बालीका लागि चाहिने खाद्यतत्व आपूर्तिका लागि प्रांगारिक मल (कम्पोष्ट, गोठेमल) २०० के.जी. प्रति कठ्ठाका दरले गहुँ लगाउनु भन्दा १५ दिन अगावै माटोमा एकनास सँग मिलाउनु पर्छ । सके सम्म खेतबारीमा मल घोप्ट्याएर (पहिलेदेखि गरी आएको चलन भन्दै) त्यत्तिकै छोड्नु हुँदैन । मललाई माटोमा तत्काल मिलाइहाल्नुपर्छ । यसो गरेमा घामले तथा हावाले खाद्यतत्व उडाइदिने वा पानीले बगाउने सम्भावना कम हुन्छ ।
बाली लगाउनका लागि माटोमा चाहिने मात्रामा चिस्यान सुनिश्चित गर्नुपर्छ । जोतेको खेत राम्रोसँग सम्याउनुपर्छ जसले गर्दा चिस्यान रहिरहन्छ, बीउ राम्रोसँग उम्रिन्छ र हुर्कन्छ, झारपात पनि कम हुन्छ र सिंचाई गर्न पनि सजिलो हुन्छ । डलेठो वा अन्य यस्तै उपकरण प्रयोग गरी वा कोदालोले सबै डल्ला फुटाउनुपर्छ र माटो मसिनो बनाउनुपर्छ